नेता रावलको राजीनामा बारे अध्यक्ष ओलीले दिए यस्तो प्रतिक्रिया
७ कात्तिक काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। शनिबार पार्टीको वडा अधिवेशन उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरूले देशलाई दिशाहीन अवस्थामा पुर्याउने प्रयास गरिरहेको आरोप लगाए।
‘प्रतिगामी शक्तिहरू देशलाई अस्थिरतामा धकेल्ने काम गरिरहेका छन्। यो ३ महिनाको अवधिमा देखिसकियो- देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमनमा व्यवधान खडा गर्ने, अग्रगमन हुन नदिने, स्वेच्छाचारिता, मनपरीतन्त्र देशमा लागू गर्ने, अनुशासनहीनता, अराजकता राज्यस्तरबाटै गर्ने, यस खालका क्रियाकलापहरू हामीले देखिराखेका छौं,’ ओलीले भने, ‘यो विपरीत बाटो हो। यो प्रतिगमनतर्फको बाटो हो।’
उनले अगाडि थपे, ‘संविधानको कार्यान्वयनको सन्दर्भमा, राजनीति परिचालनको सन्दर्भमा, जनतामा रहेको सार्वभौमसत्ता, त्यसको अपव्याख्या गरेर अन्तै सार्न खोज्ने प्रयासको सन्दर्भमा अहिले भएका र भइरहेका गतिविधिहरू प्रतिगामी गतिविधिहरू हुन्।’ त्यस्तै, शनिबार पार्टी कार्यालय पुगेका अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनामा दिएको बताए।
‘संयोजन मैले सकिन त्यसकारण मेरो राजीनामा भन्नुभयो,’ शनिबार पार्टी कार्यालयमा ओलीले भने, ‘त्यत्रो ठूलो कुरो पनि होइन। लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन।’ १० बुँदे कार्यान्वयनमा ओली प्रतिबद्ध नदेखिएको भन्दै त्यसलाई कार्यान्वयन गर्न सहजिकरणका लागि बनाइएको कार्यदलबाट रावलले हिजो राजीनामा दिएका थिए।
ओलीले १० बुँदे कार्यान्वयन भइसकेको र बाँकी रहेका ठाउँमा रचनात्मक ढंगले हुने बताए। उनले भने, ‘१० बुँदे कार्यान्वयन भइसक्यो सबैतिर। केही-केही ठाउँमा रहेको ठाउँमा रचनात्मक ढंगले कार्यान्वयन हुन्छ। त्यसमा समस्या छैन।’ पार्टीमा कुनै १० भाइ भन्ने समूह नभएको ओलीको भनाइ छ।