यस कारण बढ्यो सिमेन्टको भाउ , कति मूल्य ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक ११ २०७८
6.6K
SHARES

११ कात्तिक काठमाडौ ।  दसैंअघिसम्म सिमेन्टको भाउ घटाएर बिक्रीमा प्रतिस्पर्धा गरिरहेका सिमेन्ट उद्योगले अहिले भने मूल्य बढाएका छन् । विश्वव्यापी रुपमा देखिएको ऊर्जा संकटका कारण नेपालमा पनि सिमेन्टको भाउ बढेको तर्क उनीहरुको छ । खासगरी सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइलाको भाउ बढ्दा उत्पादन लागतसमेत वृद्धि भई सिमेन्टको मूल्य बढाउनुपरेको उनीहरुको भनाइ छ ।

यति बेला उनीहरुले बोरामा ३०-३५ रुपैयाँ हाराहारीमा मूल्य बढाएका छन् । हाल कोइलाको मूल्य अकासिएका कारण सिमेन्टको भाउ बढेको उद्योगीहरूको तर्क छ । उनीहरूका अनुसार सिमेन्टका लागि क्लिंकर बनाउनुपर्छ । क्लिंकर बनाउन कोइला नभई हुँदैन । विश्वव्यापी रुपमा देखिएको ऊर्जा संकटका कारण यति बेला कोइलाको मूल्य अत्यधिक बढेको छ । अर्घाखाँची सिमेन्टका बजार प्रमुख रमेश थापाका अनुसार विश्व बजारमा कोइलाको भाउ ६ गुणासम्म बढेको छ ।

नेपालमा कोइला उत्पादन हुँदैन, त्यसैले आयातको भर पर्नुपर्छ ।नेपालमा कोइला आयात हुने प्रमुख देश भारत हो । यति बेला भारत नै कोइला संकटसँग जुधिरहेको छ । केही महिनाअघि भारतका कोइला खानीमा वर्षाको पानी पसेपछि कोइला उत्पादन घटेको छ । भारतमा मात्र नभएर विश्वका प्रमुख कोइला उत्पादक देशमा समेत कोइला उत्पादन घटेको छ । यसकै असर नेपाली बजारमा पनि परेको सिमेन्ट उद्योगीले बताएका छन् ।

’कोइलाको आपूर्ति कम भएको छ। यसकारण कोइलाको लागत बढ्यो र सिमेन्टको भाउमा असर पर्‍यो,’ थापाले भने । यस्तै अवस्था रह्यो भने सिमेन्टको मूल्य अझै बढाउनुपर्ने उनले बताए । दसैंअघि अर्घाखाँचीले ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट/छिटो सुक्ने) को भाउ अघिल्लो वर्षको यही समयमा भन्दा बोरामा एक सय रूपैयाँ घटाएर बिक्री गरेको थियो ।

त्यो बेला अर्घाखाँचीको ओपिसी सिमेन्टको कारखाना मूल्य प्रतिबोरा ६ सय २० रूपैयाँ थियो। भ्याट, ढुवानी खर्च लगायत जोडेर वितरकसम्म पुग्दा ७ सय ६६ रूपैयाँ २५ पैसा हुन्थ्यो। यसमा वितरकले दसदेखि बीस रूपैयाँसम्म नाफा राखेर बिक्री गर्छन् । त्यसैले उपभोक्ताले सात सय ७० देखि सात सय ९० रूपैयाँसम्ममा सिमेन्ट पाइरहेका थिए । अहिले उद्योगले बोरामा २० रूपैयाँ बढाएको छ । हाल अर्घाखाँची ओपिसीको कारखाना मूल्य नै प्रतिबोरा ६ सय ४० रूपैयाँ पुगेको थापाले बताए । उपभोक्तासम्म आइपुग्दा बोराको सात सय ९० देखि आठ सय २० रूपैयाँसम्म पर्छ ।

यसैगरी शिवम् सिमेन्टको मूल्य पनि गत महिनाको तुलनामा ३० देखि ३५ रूपैयाँ बढेको छ । गत असोजमा शिवम् सिमेन्टको उपभोक्ता मूल्य सात सय ६५ देखि सात सय ८० रूपैयाँ थियो। हाल बढेर सात सय ९५ देखि आठ सय १५ रूपैयाँ प्रतिबोरा पुगेको कम्पनीले जानकारी दिएको छ ।