यस कारण संविधान संशोधन आवश्यक छ – डा. भट्टराई
१४ कात्तिक लहान । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् । सिरहाको गोलबजार नगरपालिका–९ डण्डाटोलमा जसपा सिरहाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिङ्गलाई समेट्न नसकेकाले संशोधन गरी सबैको सर्वस्वीकार्य बनाउनुपर्ने बताए ।
सबै दलको संयुक्त प्रयासमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सही लोकतन्त्र स्थापना हुन नसकेको टिप्पणी उनको टिप्पणी छ । “लोकतन्त्रमा सबै जातिभाषा, धर्म, समुदाय, लिङ्गको राज्यसत्तामा सामानुपातिक पहुँच हुनुपर्छ,” उनले भने ।
“आउने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा पार्टीलाई एक नम्बरको पार्टी बनाउन लाग्नुहोस्,” डा. भट्टराई भने,“ तपाईहरू सङ्गठन विस्तार, शुदृढीकरण र प्रचारमा जुट्नुस् हामीले आज गरेको मेहनतले भोलि परिणाम दिने हो ।” रासस