ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाउन शुरु


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १४ २०७८
15.5K
SHARES

१४ कात्तिक काठमाडौ । ललितपुर महानगरपालिकाले जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो चरणमा ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई आइतबारदेखि निमोनियाविरुद्धको खोप लगाउन शुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिएका छन । अर्यालका अनुसार ललितपुर महानगरमा ७४ वर्षभन्दा माथिका जेष्ठ नागरिकको संख्या ५ हजार २ सय छन् ।

अर्यालले भने, ‘७० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने हाम्रो लक्ष्य छ । यो उमेर समूहका संख्या करिब ८ हजार छन् । पहिलो चरणमा ५ हजार २ सय जनालाई खोप दिइएपछि बाँकीलाई दोस्रो चरणमा खोप दिइने योजना छ ।’

अर्यालका अनुसार नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा निमोनियाविरुद्धको खोप (पीसीभी–१३) दिन शुरु गरिएको हो । खोप कार्यक्रम १७ गतेसम्म सञ्चालन हुनेछ । वडामा रहेको खोप केन्द्रमा पुगि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने उनको भनाइ छ ।

दोस्रो चरण अन्तर्गत ७० देखि ७३ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने उनले बताएका छन । दोस्रो चरणको खोप कार्यक्रम छिट्टै सञ्चालन हुने अर्यालले जानकारी दिएका छन ।