मतपत्र च्यातेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १५ २०७८
7K
SHARES

१५ कात्तिक काठमाडौ।आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् ।

पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।” नेकपा एमाले बहुमतको सङ्कल्पका साथ अघि बढेको भन्दै उनले कसैको तागतले रोक्न नसक्ने बताए ।

पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उनले भने, “जोजो मिलेर आए पनि एमालले सामना गर्छ ।” एमालेले लोकतन्त्रमा विश्वास गर्ने भन्दै उनले जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताए । उनले भने “अब फेरि कसैले मतपत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ ।” आफूहरु तीनै तहमा बहुमत ल्याउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै उनले रोक्न सके रोक्नका लागि विपक्षी दलहरु समक्ष चुनौती दिए ।