टोपी लगाएर गएको बाइडनले चिनिहाले – प्रधानमन्त्री
१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति छिमेकी मुलुक भारतको सदभाव रहेको बताएका छन् ।
स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।
‘टोपी लगाएर गएको बाइडनले चिनिहाले’
ग्लास्गोमा प्रधानमन्त्री देउवाले बेलायतका रक्षामन्त्रीसँग गोर्खा सैनिकका समस्या समाधानबारे छलफल गरेको जानकारी पनि दिए ।
‘बेलायतको रक्षामन्त्रीको नेपालप्रति धेरै नै सदभाव रहेछ,’ देउवाले भने, ‘अरुको घटाएर गोर्खा सैनिकहरुको संख्या बढाएको छु भनेर भन्नुभयो ।’ कतिपय कुराहरुमा अझै समस्या रहेको भन्दै देउवाले नयाँ राजदूत आएपछि बाँकी समस्या समाधानका विषयमा छलफल गर्ने बताएको जानकारी दिए ।
अमेरिकी राष्ट्रपति जो बाइडनसँग भएको भेटबारे जानकारी दिने क्रममा देउवाले भने, ‘बाइडनसँग भेट हुँदाखेरि टोपी लगाएर गएको चिनिहाले । नेपाल आएका रहेछन् उनी । नेपाल देश मलाई खुब मन पर्छ भने ।’
यसैगरी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नेपालाई पूरा सहयोग हुने बताएको पनि देउवाले बताए ।