प्रधानन्यायाधीशविरुद्ध वकिलहरुले गरे यी ११ निर्णयहरू
२२ कात्तिक काठमाडौं । नेपाल बार एशोसिएसनसँग आवद्ध अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध सोमबार ११ निर्णय लिएका छन् ।
बारको बैठकमा प्रधानमन्त्रीसहित संसदमा रहेका राजनीतिक दलहरूलाई न्यायपालिकाको वर्तमान अवस्थाबारे ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
आइतबार र सोमबार देशव्यापी छलफल गरेको एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिषयमा प्रधानमन्त्रीसहित संसदमा रहेका राजनीतिक दलहरूलाई उपयुक्त कदम चाल्न अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
बैठकले प्रधानन्यायाधीशको राजीनामा नआउन्जेल आन्दोलनका कार्यक्रमलाई जारी राख्ने निर्णय समेत गरेको नेपाल बार एशोसियसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।
बैठकले कात्तिक २५ देखि ३० गतेसम्म उपत्यकाका अदालत र न्यायाधिकरणहरुमा बिहान १० बजेदेखि १२ बजेसम्म सुनुवाई नगरिदिन सम्बन्धित निकायहरूलाई आग्रह गर्ने र बहसमा सहभागी नहुन अधिवक्ताहरूलाई आग्रह गर्ने निर्णय गरेको छ ।
त्यस्तै कात्तिक २८, २९ र ३० गते उपत्यका बाहिरका बार इकाईहरुले हातमा कालोपट्टी बाँधी विरोध जनाएर काम सुचारु गर्ने, न्यायालयको वर्तमान अवस्थाका बारेमा आम नागरिकलाई जानकारी गराउने उद्धेश्यले श्वेतपत्र जारी गर्ने लगायतका ११ बुँदे निर्णय एशोसिएसनको बैठकले आज गरेको छ ।
बारको नेतृत्वमा यसमा आवद्ध वकिलहरुले प्रन्य जबराको राजीनामाको माग गर्दै दुई हप्तादेखि आन्दोलित रहेको छ ।
यस्ता छन् निर्णयहरु
१. प्रधानन्यायाधीशको राजीनामा नआउन्जेल आन्दोलनका कार्यक्रमलाई जारी राख्ने ।
२. प्रधानन्यायाधीश सम्मिलित बेन्चमा नबस्न अन्य न्यायाधीशलाई अनुरोध गर्ने ।
३. प्रधानन्यायाधीशलाई आफू इजलासमा नबस्न यसअघि आग्रह गरिएकामा त्यसको उल्लंघन भएको कारण आफू वा आफूसहितको बेञ्च गठन नगर्न र सुनुवाई नगर्न पुनः जोडदार माग गर्ने ।
४. कात्तिक २३ गतेदेखि ३० गतेसम्म हाल भइरहेको आन्दोलनलाई निरन्तरता दिने ।
५. कात्तिक २५ देखि ३० गतेसम्म उपत्यकाकमा अदालत र न्यायाधिकरणहरुमा बिहान १० बजेदेखि १२ बजेसम्म सुनुवाई नगरिदिन सम्बन्धित निकायहरुलाई आग्रह गर्ने र बहसमा सहभागी नहुन अधिवक्ताहरूलाई आग्रह गर्ने ।
६. कात्तिक २८, २९ र ३० गते उपत्यका बाहिरका बार इकाईहरुले हातमा कालोपट्टी बाँधी विरोध जनाएर काम सुचारु गर्ने ।
७. न्यायालयको वर्तमान अवस्थाका बारेमा आम नागरिकलाई जानकारी गराउने उद्धेश्यले श्वेतपत्र जारी गर्ने ।
८. प्रधानमन्त्री तथा संसदमा रहेका राजनीतिक दलहरूलाई न्यायपालिकाको वर्तमान अवस्थाबारे ज्ञापनपत्र बुझाउने ।
९. माननीय हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यन्वयनका लागि आफूले गर्ने र अन्यलाई आग्रह गर्ने ।
१०. अदालत परिसरबाट दंगा प्रहरी हटाउन सर्वोच्च प्रशासनलाई आग्रह गर्ने ।
११. प्रधानन्यायाधीशले बोलाएको न्यायपरिषदको बैठकमा सहभागी नहुन परिषद्का अन्य सदस्यलाई आग्रह गर्ने न्याय सेवा आयोगमा पनि नजान आग्रह गर्ने ।