मन्त्री झाँक्रीले यस्तो निर्णय गरेपछि…
२३ कात्तिक काठमाडौ । नेपाल सरकारले उपभोक्ता समिति मार्फत गरिने निर्माण सम्बन्धी सम्पूर्ण खरिद कार्य रोक्का गरेको छ । सहरी विकास मन्त्रालयले उपभोक्ता समितिबाट हुने निर्माणसम्बन्धी खर्चमा रोक लगाउने निणर्य गरेको हो । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले उपभोक्ता समितिमार्फत तत्कालका लागि खर्च गर्न नपाइने गरी रोक लगाएकी हुन् ।
२०७८ कात्तिक १४ गतेको मन्त्रीस्तरीय बैठकको निणर्यअनुसार उपभोक्ता समिति मार्फत गरिने निर्माण सम्बन्धी सम्पूर्ण खरिद कार्य रोक्का गरेको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । उपभोक्ता समितिबाट कार्य गराउँदा कार्यमा एकरुपता नभएको, निर्माण कार्यमा प्रतिस्पर्धा नभएको, गुणस्तर कायम गर्न कठिन भएको र ऐननियममा भएको व्यवस्था पालना नभएको महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरुमा पनि उल्लेख गरिएको छ । मन्त्रालयबाट गरिएको अनुगमनका क्रममा समेत सोही समस्या देखिएको विज्ञप्तिमा उल्लेख छ ।
उपभोक्ता समितिबाट गराइने निर्माण कार्यका लागि स्पष्ट कार्यविधि बनाई कार्यन्वयन गर्न उपयुक्त हुने देखिएकाले अर्को व्यवस्था नभएसम्मका लागि रोक्का गरिएको मन्त्रालयले जनाएको छ ।