यस कारण एमालेको महाधिवेशन उद्घाटनमा प्रचण्ड नजाने


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ९ २०७८
6.4K
SHARES

९ मंसिर काठमाडौ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चितवनमा उद्घाटन हुने नेकपा एमालेको महाधिवेशनको उद्घाटन समाराेहमा सहभागी नहुने भएका छन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रचण्ड शुक्रबार चितवन नजाने बताए।

उनले भने, ‘भोलि प्रचण्ड कमरेड र मेरो अन्तै कार्यक्रम छ। पूर्वनिर्धारित कार्यक्रम भएकाले हामी जान पाउँदैनौं। पार्टीको प्रतिनिधि बनेर कोही नेता जानुहुन्छ। को जानुहुन्छ अहिले टुंगो भइसकेको छैन।’

प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुँदैछन्। महाधिवेशनको उद्घाटनमा सहभागी हुन केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर उनलाई निम्तो दिएका थिए।

सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने उद्घाटन कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन जाँदैछन्।