अत्यावश्यक कामबाहेक विदेश नजान स्वास्थ्य मन्त्रालयको अनुरोध
१५ मंसिर काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश नजान अनुरोध गरेको छ । कोभिड-१९ को ’ओमिक्रोन’ भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै मन्त्रालयले एक अपिल प्रकाशित गरी अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन आग्रह गरेको हो ।
नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाइ नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय एक भएर काम गरिरहेको अवस्था छ- अपिलमा उल्लेख छ । यो भेरियन्टले बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न/गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
केही दिनअघि मात्र अफ्रिकी देशमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) साउथ अफ्रिका तथा एसियाका केही देशमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी ’भेरियन्ट अफ कन्सर्न’ भनी घोषणा गरेको छ ।
मन्त्रालयले कोभिड-१९ विरुद्धको खोपले कोभिड-१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गइ खोप लगाउन पनि अनुरोध गरेको छ ।