एमालेको सम्पत्तिमा हकदाबी गर्छौं – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २१ २०७८
10.6K
SHARES

२१ मंसिर सुनसरी। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब क्रान्तिकारी शक्ति नरहेको बताएका छन्।

मंगलबार सुनसरीको इटहरीमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले एमालेले कम्युनिष्ट चरित्रलाई कायम राख्न नसकेको टिप्पणी गरे। एमालेले जनताको बहुदलीय मूल्य र मान्यतालाई समेत तिलाञ्जली दिएको उनको भनाई छ।

नेपालले भने, ‘त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिष्ट चरित्रलाई कायम राख्न सकेन, मार्क्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ। त्यो नारायणी नदीमा बगाई दिइसकेको छ। पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैँडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउने छ, त्यहाँ रहेकाहरूको हरिबिजोग भएको छ, हामी त्यहाँ रहेको भए के हुन्थ्यो, सबैलाई थाहा छ, सच्चिनेवाला कोही छैन त्यहाँ भनेर।’

उनले एमाले भित्र रहेका नेताहरूको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताए। नेपालले तत्कालीन एमालेको सबै सम्पत्ति केपी ओली समूहले खोसेको आरोप पनि लगाए। नेपालले उक्त सम्पत्तिमा आफूहरूको समेत भाग लाग्ने बताउँदै कानूनी प्रक्रिया अनुसार हकदावी गर्ने समेत बताए। ‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो, भौतिक सम्पत्ति छ, नगद पनि छ। ती सबै खोसेर लगेका छन्। कब्जा गरेको छ,’ नेपालले भने, ‘तर पनि केही भएको छैन। फेरि आर्जन गरौंला। हक लाग्छ भने त्यो पनि हकको लागि कानूनी उपायहरू पनि खोजौँला।’