सेयर बजारप्रति अर्थमन्त्री सकारात्मक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर २४ २०७८
5.9K
SHARES

२४ मंसिर काठमाडौं। अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले सेयर बजारप्रति अर्थ मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताएका छन्। अर्थसंसारको अन्तर्क्रियामा उनले भने, ‘अर्थमन्त्रीज्यू जहिले पनि सेयर बजार प्रति सकारात्मक हुनुहुन्छ। सेयर बजारको विकास र स्थायित्वको लागि उहाँ सक्रिय रूपमा लागिरहनु भएको छ। बजारमा हल्ला गरिए जस्तो अर्थ मन्त्रालय सेयर बजार प्रति नकारात्मक छैन।’

उप्रेतीले अगाडि थपे, ‘अर्थमन्त्रीज्यूले नेपाल राष्ट्र बैंक, धितो पत्र बोर्ड लगायतका सरोकारवाला निकायहरूसँग जहिले पनि सेयर बजार किन घटिरहेको छ भनेर चासो राख्नुभएको छ। अहिलेको घट्दो सेयर बजारप्रति उहाँ निकै चिन्तित हुनुहुन्छ। तपाईमार्फत आम लगानीकर्ताहरूलाई म के जानकारी दिन चाहन्छु भने लगानीकर्ताहरूको मागको बारेमा अर्थ मन्त्रालय जानकार छ र त्यस विषयमा गम्भीर छलफल पनि भइरहेको छ। केही दिनभित्रमा ठोस कुरा आउनेछ।’

विशेषगरी अर्थमन्त्रीले अहिलेको सेयर बजारलाई हावा भरिएको बेलुनको रूपमा तुलना गरेपछि बजार झन् घटेको भन्ने आम लगानीकर्ताको आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘खासमा उहाँले त्यस्तो भन्न खोज्नु भएको होइन। कुनै पनि कुराको मूल्य स्वाभाविक हुनुपर्दछ, अस्वाभाविक हुनु हुँदैन भन्ने आशयको उहाँको धारणालाई मिडियाहरूले गलत व्याख्या गरिदिए।’

अहिलेको तरलता संकटको बारेमा उनले भने, ‘२ हप्ताभित्र पुँजीगत खर्च व्यापक रूपमा गर्ने गरी तयारी भइरहेको छ। अहिले देखिएको तरलता संकटलाई द्रुत गतिमा समाधान गरिने छ त्यसमा अर्थ मन्त्रालयले कुनै कसर बाँकी राख्ने छैन।’