आज माओवादी केन्द्रको प्रदेश सम्मेलन हुदै
२४ मंसिर काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले आज (शनिवार) एकसाथ प्रदेश सम्मेलन गर्दै छ। पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन लागेको हो।
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ। प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ। विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ। प्रवास समितिको सम्मेलन भने आज नहुने बताइएको छ।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्।
प्रदेश –१ मा २५९, प्रदेश–२ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम १७५ सदस्यीय हुनेछन्।
माओवादीले यसअघि यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो। माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ। राष्ट्रिय सम्मेलनमार्फत् माओवादीले आगामी कार्यदिशा निर्माण गर्ने बताएको छ।