हारपछि पौडेलले दिए यस्तो प्रतिक्रिया
१ पुस काठमाडौं। महामन्त्रीमा पराजित प्रदीप पौडेलले सभापतिबाहेक अन्यमा गुटको प्रभाव नदेखिएको बताएका छन् । बिहीबार महामन्त्रीको परिणामपछि सानेपामा सञ्चारकर्मीसँगको कुराकानीमा नेता पौडेलले मतदाताले विवेकपूर्ण तरिकाले मतदान गरेको बताए ।
“गुटको प्रभाव देखिएन, साथीहरूले विवेकपूर्ण तरिकाले भोट गर्नुभएको छ,” उनले भने । पौडेलले कांग्रेसमा पुस्तान्तरण भएको र वैचारिक रूपान्तरण गर्नुपर्ने बताए ।
“नेपाली कांग्रेसमा पुस्तान्तरण भएको छ । अब वैचारिक रूपान्तरणका लागि उहाँहरूले केही न केही प्रयास गर्नुहुन्छ भन्ने विश्वास लिएको छु,” उनले भने । महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मा सबैभन्दा बढी आशा गरिएका नेता भएको भन्दै उनले उनीहरूले राम्रो काम गर्ने विश्वास व्यक्त गरे । पौडेल शेरबहादुर देउवाको टिमबाट महामन्त्रीमा लडेका थिए ।