भारतमा सोनी र जी टीभीको मर्जर


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस ८ २०७८
8.2K
SHARES

बीबीसी । सोनी पिक्चर्स नेटवक्र्स इन्डिया प्राइभेट लिमिटेड र जी इन्टरटेनमेन्ट इन्टरप्राइजेज लिमिटेडले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् ।  जापानको विभिन्न कम्पनीहरूको समूह सोनीको भारतीय इकाईले आफ्नो स्थानीय प्रतिद्वन्द्वी जी इन्टरटेनमेन्टसँग यो सम्झौता गरेको हो ।

जी इन्टरटेनमेन्टसँग भएको यस सम्झौतापछि यो भारतको दोस्रो ठूलो इन्टरटेनमेन्ट नेटवर्क बनेको छ।  मंगलबार भएको सम्झौताअनुसार अब ७५ भन्दा बढी टीभी  च्यानल, फिल्म राइट्स र दुई स्ट्रिमिङ प्लेटफर्म एउटै नेटवर्कमा आउनेछन् ।

भारतमा द्रुत रूपमा बढ्दो मनोरञ्जन उद्योगमा प्रमुख भूमिकामा रहन लिइएको यो महत्वपूर्ण कदम हो । यससँगै यो नेटवर्क अब वाल्ट डिज्नीको हटस्टार जस्ता प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न र टक्कर दिन तयार छ ।

भारतको व्यापक मनोरञ्जन उद्योगको बारेमा कुरा गर्दा, यो तथ्यबाट अनुमान लगाउन सकिन्छ कि भारतमा ९० करोड भन्दा बढी टीभी दर्शकहरू छन् र त्यहाँ आठसय भन्दा बढी टीभी च्यानलहरू छन् । यी आठ सय च्यानलहरूमा नाटक, खेलकुद, रियालिटी शो वा अन्य मनोरञ्जनात्मक लगायत प्रायः सबै प्रकारका कार्यक्रमहरू देखाइन्छ ।

सोनीको ५१ प्रतिशत सेयर हुने

मंगलबार दुबै कम्पनीको यो मर्जरको घोषणासँगै मर्जरपछि बनेको नयाँ कम्पनीमा सोनी पिक्चर्स नेटवक्र्स इन्डियाको करिब ५१ प्रतिशत सेयर रहने निर्णय पनि भएको छ ।

जी का सीईओ पुनीत गोयन्का मर्जरपछि हुने कम्पनीको प्रमुख हुनेछन् । पुनीत गोयन्काले यो सम्झौतालाई निकै महत्वपूर्ण कोसेढुङ्गाको रूपमा व्याख्या गरेका छन् ।

एक आधिकारिक प्रेस विज्ञप्तिअनुसार गोयन्काले भनेका छन्, “मर्जरपछि यो नयाँ कम्पनीले मनोरञ्जन व्यवसायलाई थप विस्तार गर्नेछ । यसले हामीलाई हाम्रा उपभोक्ताहरूलाई व्यापक स्तरमा कन्टेन्टको विकल्प दिन सक्षम बनाउनेछ ।”

यी दुई कम्पनी वर्षौँदेखि भारतमा छन् र स्ट्रिमिङ प्लेटफर्म जी५ र सोनी लिभका मालिक हुन् । सोनी र जी टीभी भारतका प्रमुख लोकप्रिय च्यानलहरू हुन् र तिनीहरूको आफ्नै ठूलो टीभी फलोअरहरू छन् । मिडिया र मनोरञ्जन क्षेत्रका जानकार वनिता कोहली खान्डेकरले यो धेरै कमीकमजोरी हटाउने सम्झौता भएको बताइन् ।

उनी भन्छिन्, “उदाहरणको लागि सोनीको भारतभर जीको जस्तो पहुँच छैन, चाहे त्यो सानो सहर होस्, गाउँ होस् वा क्षेत्रीय स्तरको दर्शक होस् । र, सोनीको जस्तो बालबालिका र खेलकुदसँग जोडिएको कार्यक्रम या प्लेटफर्म जीसँग छैन ।”

वनिताले यो दुवै कम्पनीका लागि पारस्परिक रूपमा परिपुर्ति गर्ने सम्झौता भएको मान्छिन् ।  यो मर्जरसँगै जीले अन्तर्राष्ट्रिय आयाम पनि पाउने उनको भनाई छ ।

उनका अनुसार, “अहिले ६१ अर्ब पाउन्ड (लगभग ६१०० अर्ब भारु) को कम्पनी सोनीसँग जी मर्ज भइसकेको छ । यस्तो अवस्थामा जी अब विदेशी कम्पनी बनेको छ र यसले ठूलो प्लेटफर्म पनि पाएको छ ।”

यद्यपि, अझै पनि अधिकांश भारतीय दर्शक डाइरेक्ट–टू–होम टीभी मनोरञ्जनमा निर्भर छन्, स्ट्रिमिङ प्लेटफर्महरू पनि देशमा तीव्र रूपमा बढ्दै छन् । युवा दर्शकहरू र विशेष गरी डिजिटल दर्शकहरू यसको ठूलो उपभोक्ता हुन् ।  पछिल्ला वर्षहरूमा नेटफ्लिक्स, अमेजन प्राइम भिडियो र हट स्टार जस्ता धेरै स्ट्रिमिङ प्लेटफर्महरूबीच प्रतिस्पर्धा बढेको छ । सोनी र जीबीचको यो सम्झौतासँगै यो प्रतिस्पर्धा अझै बढ्ने विज्ञहरूको विश्वास छ । बीबीसी हिन्दीबाट