माओवादीको राष्ट्रिय सम्मेलन : को होला महासचिव ?
९ पुस काठमाडौ । अहिले शान्ति प्रकृयामा आएको १५ वर्ष पछि नेकपा माओवादी केन्द्र भित्र खुलेर नेतृत्वमा दावी गर्ने र निर्वाचनबाटै चुनिने विधि संभवत पहिलो पटक अभ्यास थालेको छ । बागमती प्रदेश, प्रदेश नं १ को पदाधीकारीको निर्वाचनबाट हालै नेतृत्व चयन भएका छन् ।
आँउदो पुष ११ गतेदेखि १३ गते सम्म हुने राष्ट्रिय सम्मेलन पनि नेता भन्दा नीतिमा केन्द्रीत हुने माओवादीले जनाएको छ । तर यस पटक बहुपदमा जाने तयारी गरेको माओवादीले अध्यक्षमा प्रचण्डको विकल्प नदेखेपनि त्इस भन्दा पछिका नेतृत्वहरुमा भने आकांक्षीहरुको चाहना बढेको देखिएको छ ।
माओवादीमा अध्यक्ष पछिको सांगठनिक हिशाबले शक्तिशाली ठानिएको महासचिव पदमा आकांक्षीको संख्या बढेको देखिएको छ । महासचिवमा कृष्ण बहादुर महरा,जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, पम्फा भुषाल लगायतकाले चाहना व्यक्त गरेका छन् ।
उच्च स्रोतका अनुसार अध्यक्ष प्रचण्ड नेतृत्व सर्वसम्मत नै गर्दा राम्रो हुने मनशायमा रहेका छन् । तर दोस्रो तहका कतिपय नेताले निर्वाचन गरेर नेतृत्व छान्नु पर्ने भन्दै आकांक्षा देखाउन थालेका छन् ।
यदी सहमतिमा नेतृत्व चयन हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन हुने नेता लिलामणि पोखरेलले बताए ।
अहिले टिके प्रथा हटाउनु पर्ने र निर्वाचनबाट नेतृत्व चयन हुनु पर्ने भन्दै तल्लो स्तरबाट पनि माग भएको देखिन्छ । तर अध्यक्ष बाहेकको पदमा निर्वाचन हुने या नहुने भन्ने माओवादीले आधिकारीक रुपमा भने अहिले कुनै निर्णय गरीसकेको छैन ।