प्रचण्डले परिवारको घेरा नतोड्ने हो भने पार्टी बन्दैन – नेता बस्नेत


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस १३ २०७८
6.5K
SHARES

१३ पुस काठमाडौं । माओवादी केन्द्रको आठौँ महाधिवेशन काठमाडौंमा भएको छ । काठमाडौंमा जारी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीको नेतृत्वतहमा पुग्ने व्यक्ति पुनः पुष्पकमल दाहाल प्रचण्ड नै भए पनि महाधिवेशनको प्रक्रिया भने सबै पूरा गरिएको छ ।

महाधिवेशनको नजिकका दिनहरुमा अध्यक्ष प्रचण्डको बोलीमा भने हिजोका दिनमा भन्दा केही परिवर्तन देखिएको छ । सशस्त्र युद्धका घाइते, बेपत्ता परिवार र पार्टीमा लामो समय योगदान गरेका व्यक्तिहरु नै छायामा पर्दासमेत बेवास्ता गर्दै आएका प्रचण्डले आफूमा पनि केही परिवर्तन जरुरी रहेको आत्मालोचनासहितको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट आएकाहरु नै प्रचण्डमा धेरै परिवर्तन जरुरी रहेको टिप्पणी गर्छन् । तीमध्येका एक हुन् झापाबाट आएका बेपत्ता परिवारका सदस्य वीरेन्द्र बस्नेत ।

सशस्त्र युद्धमा राज्यद्वारा दुइ सहोदर दाजुभाई बेपत्ता पारिएका परिवारका सदस्य बस्नेत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनस्थलमा भेटिए । सशस्त्र द्वन्द्वताका उनका दुइ भाइ बेपत्तामात्रै पारिएनन् उनी आफैँ पनि १५ महिना जेल परे । पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा माओवादी आन्दोलन अगाडि बढाउनुपर्ने उनको मत देखिन्थ्यो । तर प्रचण्ड परिवारवादमा फस्दै गएको उनको आरोप थियो ।

बस्नेत भन्छन्, “माओवादी पार्टी बनाउने हो भने सुरुमा प्रचण्ड परिवारवादको घेराबाट बाहिर निस्कनुपर्छ । परिवारमा फस्दै जाँदा प्रचण्डसँग आम नेता–कार्यकर्ताको पहुँच पुग्न सकेको छैन । परिवारको घेरा नतोड्ने हो भने पार्टी बन्दैन ।” उनको बुझाईमा नीतिसँगै व्यवहारमा पनि परिवर्तन जरुरी छ ।