आयोजनामा भएकाे दुर्घटना छानबिन गर्न समिति गठन


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १४ २०७८
6.7K
SHARES

१४ पुस काठमाडाैं। सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा सरकारले छानबिन समिति आज गठन गरेको हो।

समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। ऊर्जामन्त्री पम्फा भुसालले दुर्घटनाप्रति चासो व्यक्त गर्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिएकी छन्। सरकारले निधन भएका प्राविधिक कर्मचारीप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। दुर्घटनामा थप एक कर्मचारी घाइते भएका छन्।

साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको थियाे। पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको थियाे।