आठौँ महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस १७ २०७८
7.7K
SHARES

१७ पुस काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । माओवादीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार उमेदवार मनोनयनको प्रक्रिया आज साँझ ८ बजेदेखि राति १०ः३० बजेसम्मका लागि तोकिएको छ ।

उमेदवार मनोनयको कार्यक्रम सकिएलगत्तै मनोनयनपछिको सूची सार्वजनिक गरिनेछ । आयोगका अनुसार आइतबार बिहानदेखि उमेदवारको विरोधमा उजुरी दिन पाइनेछ । बिहान ८ देखि ८ः३० बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन पाइने व्यवस्था गरिएको छ । उमेदवारको विरोधमा परेको उजुरीको सूचना आइतबार बिहान ८ः३५ मा प्रकाशित गरिनेछ । उजुरीमाथि निर्वाचन आयोगले अन्तिम निर्णय लिई ९ः१० मा उमेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

यस्तै, बिहान ९ः३० देखि ११ बजेसम्म उमेदवारी फिर्ता लिने समय दिइएको छ । बिहान ११ः१५ मा उमेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० देखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि आइतबार अपराह्न ४ बजेसम्मका लागि समय तोकिएको छ । त्यसलगत्तै मतगणना सुरु हुनेछ ।

आज मात्रै माओवादीको विधान सर्वसम्मत रूपमा पारित गरिएको थियो । पारित विधानानुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्न लागिएको छ । स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधानका सन्दर्भमा उठेको प्रश्नको जवाफ दिएपछि विधान पारित गरिएको हो ।

विधानानुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने भएको छ । यस्तै, केन्द्रीय कमिटीले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

कुल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेसी, आदिवासी, जनजाति, खसआर्य, अपांगता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लष्टर तय गरिएको छ । केन्द्रीय कमिटीमा सबै क्लष्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गराइने भएको छ । रासस