एमसीसी माग पूरा नभएसम्म अनुमोदन हुन दिँदैनौँ – एमाले


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८
4.7K
SHARES

९ फागुन काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताएका छन् ।

सदनमा एमालले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने उनले बताए । एमालेले राखेको माग सम्बोधनबिना हुने कुनै पनि संसद्को कार्यसूचीमा सहभागी नहुने उनले बताएका छन ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जनाको संसद्‌बाट पदमुक्त नगरेसम्म एमालेले संसदमा अवरोध कायमै राख्ने भन्दै उनले यसबीचमा बैठकमा पेस हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका छन । आफूहरूको माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले भने ।

‘संसद्‌मा निकास निस्किएपछि मात्र सदनमा टेबुल भएको एमसीसीको सम्बन्धमा निर्णय लिन्छौँ,’ उनले भने । एमालेले संसद सचिवालयमा एमसीसी दर्ता गराए पनि कांग्रेस र माओवादी केन्द्रले कार्यान्वयनको लागि सम्झौता गरेकोले एमालेको भूमिका कम हुने उनले बताएका छन ।

एमसीसीभन्दा पनि आफुहरूले राखेको माग ठुलो भएकोले पहिला आफूको माग सम्बोधनमा सभामुखले ध्यान दिनुपर्नेमा उनको भनाइ छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीको समर्थन वा विरोधमा खुलेर बोलेको छैन भने आइतबार संसद बैठकमा पनि एमालेको विरोधकै बीच एमसीसी टेबुल भएको थियो ।