ग्लोबल आइएमई बैंकको एसीईओ बने बुद्धि अकेला
२१ आश्विन काठमाडौं । ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् । यसअघि उनी बैंकको नायब महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत थिए ।
बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए । उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन् । आफ्नो लामो बैंकिङ यात्राका क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षण जस्ता प्रमुख विभागहरूमा कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् ।
साथै उनले बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारी समेत सम्हालेका थिए ।यसका साथै अकेलाले बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको भूमिकासमेत सम्हाल्दै आएका छन् ।
अकेलाले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन् । उनको लामो बैंकिङ अनुभव, जोखिम व्यवस्थापन तथा समग्र कार्यसञ्चालन दक्षताले बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।