अमेरिकाबाट धम्की आउनुले आशंका जन्मियो – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३ २०७८
2.4K
SHARES

१३ फागुन काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने बताएका छन् । शुक्रबार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन नसकिने अडानमा आफूहरू कायमै रहेको बताए । एमसीसी सम्झौताका कतिपय प्रावधानहरू आपत्तिजनक रहेको भन्दै उनले आफूहरूले ती प्रावधानहरूलाई सच्याउनका लागि बारम्बार कुरा राख्दा पनि सच्चिन नसकेको गुनासो गरे । अध्यक्ष नेपालले एमसीसी अनुमोदनका लागि अमेरिकाबाट धम्कीपूर्ण अभिव्यक्ति आउनुले पनि यसप्रति अझ बढी आशंका बढाएको तर्क गरे ।

एमसीसी सम्झौताका केही प्रावधानहरू परिवर्तन गर्ने सम्बन्धमा अझै पनि छलफल चलिरहेको उनले बताए । अध्यक्ष नेपालले भने, “यस सन्दर्भमा कतिपय प्रावधानहरूका बारेमा प्रश्नहरू उठेका छन् । ति आपत्तिजनक रहेका छन् । ती प्रावधानहरूलाई सच्याउनु पर्दछ ।”