परमाणुअस्त्र रुसले खसाले विश्व के होला ?
१८ फागुन काठमाडौं। राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रणनीतिक महत्त्वका परमाणुअस्त्रहरू विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिएपछि रुस–युक्रेन युद्धलाई थप चासोका साथ हेरिएको छ।
क्रेम्लिनमा सुरक्षानिकायका प्रमुखहरूसँग गरेको एउटा बैठकमा उनले पश्चिमा राष्ट्रहरूले रुसप्रति अमित्रतवत् कार्य गरेको टिप्पणी गरे। युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरूले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धतर्फ इङ्गित गर्दै पुटिनले त्यसलाई गैरकानुनी भनेका थिए।
नेटोका शीर्ष अधिकारीहरूले रुसविरुद्ध “चर्को टिप्पणी’’ गर्न मान्यता दिएका कारण पारमाणविक अस्त्रहरू उच्च सतर्क अवस्थामा राखिने उनले बताएका थिए। उनले परमाणुअस्त्र प्रतिरोधात्मक बललाई युद्धका लागि विशेष भूमिकामा सक्रिय अवस्थामा राख्न रुसी रक्षामन्त्री र सेनाप्रमुखलाई आदेश दिएका छन्।
पश्चिमा देशहरूलाई पछि हट्न आइतबार दिइएको चेतावनीसँगसँगै आगामी दिनहरूमा युक्रेनमा रुसले युक्रेनमा आक्रमण अझ सघन बनाउन सक्छ।
पुटिनले रुसी सेनालाई रुसको परमाणुअस्त्र समाविष्ट प्रतिरोधात्मक बललाई “युद्धका लागि विशेष भूमिकामा सक्रिय राख्न’’ आदेश दिए। वास्तवमा यस भनाइको अर्थ के हो भन्ने स्पष्ट नभएको पश्चिमी देशका विश्लेषकहरूले बताएका छन्। ब्रिटेनका अधिकारीहरूका अनुसार पुटिनले प्रयोग गरेको भाषा रुसी परमाणुअस्त्रबारे सतर्कतासम्बन्धी उनीहरूको बुझाइसँग पूर्ण रूपमा मिल्दो छैन।
केहीले पुटिनले सतर्कता स्तरलाई निकै तल्लो स्तर मानिने “निरन्तर’’ भन्दा माथिल्लो स्तर “उच्च’’मा पु¥याउन आदेश दिएको विश्वास गरेका छन्।
यद्यपि धेरैले यस आदेशलाई प्रमुख रूपमा परमाणुअस्त्रहरू प्रयोग गर्ने वास्तविक उद्देश्यका साटो सार्वजनिक सङ्केतको रूपमा व्याख्या गरेका छन्। पुटिनलाई थाहा छ कि कुनै पनि त्यस्तो कदमपछि पश्चिमको पारमाणविक प्रतिशोध निम्त्याउनेछ।
युकेका रक्षामन्त्री बेन वालेसले यस घोषणालाई मुख्यतः आम मानिसमा प्रभाव पार्न दिइएको बयान भएको बताएका छन्। यसको अर्थ त्यहाँ जोखिम छैन भन्ने होइन र अवस्थालाई नजिकबाट हेरिने सम्भावना छ।
यो नयाँ चेतावनी हो ?
गत साता पुटिनले थप साङ्केतिक भाषामा यदि अन्य देशहरूले रुसको योजनामा हस्तक्षेप गरे भने उनीहरूले “आफूले कहिल्यै नदेखेको’’ परिणाम भोग्ने चेतावनी दिएका थिए। त्यसलाई नेटोलाई युक्रेनमा प्रत्यक्ष रूपमा सैन्य संलग्नता हुन नदिने चेतावनीको रूपमा व्यापक विश्लेषण गरिएको थियो।
यद्यपि नेटोले रुससँग प्रत्यक्ष द्वन्द्व सुरु हुने र त्यो पारमाणविक युद्धका रूपमा अघि बढ्न सक्ने सम्भावनाका कारण उक्त सङ्गठनले त्यहाँ सेना नपठाउने प्रस्ट पार्दै आएको छ।
नयाँ चेतावनी किन ?
पुटिनले यस कदमलाई रुसविरुद्ध “चर्को टिप्पणी’’को प्रतिक्रियामा भएको बताए। सोमबार क्रेमलिनले ती टिप्पणी नेटोसँग सम्भावित द्वन्द्व र प्रतिरोधका बारेमा ब्रिटेनकी विदेशमन्त्री लिज ट्रसलगायत पश्चिमी अधिकारीहरूको बयानसँग सम्बन्धित रहेको जनाएको छ।
पश्चिमी अधिकारीहरूले नयाँ चेतावनी पुटिनले युक्रेनका बारेमा गलत अनुमानको गरेकाले आएको हुनसक्ने बताएका छन्। यसले उनलाई नयाँ विकल्पहरू र कडा छलफलहरू गर्नुपर्ने अवस्थामा पुर्याएको छ।
संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले पुटिनको भाषा, रुसले युक्रेनमा पहिलो आक्रमण नगरेको तर आफ्नो प्रतिरक्षाका निम्ति आक्रमण गरेको भन्ने बयानको एउटा अंश भएको बताइन्। यसरी हेर्दा परमाणुअस्त्र प्रयोगको चेतावनी उनका आफ्नै मानिसहरूका लागि प्रवाह गरिरहेको सन्देश हो।
अर्को कोणबाट हेर्दा पुटिन युक्रेनलाई सैन्य सहायता प्रदान गर्ने पश्चिमी योजनाहरूको बारेमा चिन्तित छन् र उनीहरूलाई त्यसो नगर्न चेतावनी दिन चाहन्छन्।
त्यस्तै उनी जारी प्रतिबन्धहरूका कारण चिन्तित छन् जसलाई आफ्नो मन्तव्यमा अशान्ति निम्त्याउन र उनको सरकारलाई पराजित गर्न रचिएको भनी उल्लेख गरेका थिए। तर, उनको समग्र सन्देश नेटो प्रत्यक्ष रूपमा संलग्न भए घटनाहरू चर्कनसक्ने चेतावनी जस्तो देखिन्छ।
जोखिमहरू के हुन् ?
यदि पुटिनको धम्कीलाई हतियार प्रयोग गर्ने चाहनाको सङ्केतको साटो चेतावनीको रूपमा लिइएको भए पनि घटनाहरू अनियन्त्रित बन्ने वा एक पक्षले अर्को पक्षबारे गलत विश्लेषण गर्ने जोखिम सधैँ रहन्छ।
पुटिनले सीमित सल्लाहकारहरू मात्र उनलाई सत्य बताउन चाहन्छन्। केहीमा उनको निर्णय अनिश्चित भइरहेको डर छ। कोही भने उनको निर्णयहरू यसैगरी धेरै अघि बढे सेनाभित्रै कतिपयले ती आदेश मान्न इच्छुक नहुन सक्ने आकलन गर्छन्।
अहिले कुनै पनि पारमाणविक द्वन्द्वको जोखिम थोरै बढेको हुनसक्छ, तर ती अझै पनि कम छन्।
के भयो रुस–युक्रेन वार्ता ?
युकेनसँग समुद्रमा पारमाणविक सशस्त्र पनडुब्बीहरू छन् र उसले पनि सार्वजनिक रूपमा केही भन्न सक्ने सम्भावना छैन। यस देशको उद्देश्य रुसी घोषणालाई धम्कीका रूपमा लिने र त्यसलाई गम्भीरताका साथ लिएर तनाव नबढाउने जस्तो देखिन्छ।
पश्चिमी सुरक्षा अधिकारीहरूले हाल पारमाणविक सङ्कट नभएको र त्यसो हुन नहुने बताए।
(बिबिसी नेपाली सेवाबाट।)