गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठदेखि व्यवसायीक उडान
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको बताए । उनले अध्यागमन, भन्सार,क्वारेन्टाइन र सुरक्षा एजेन्सीहरूको सोही अनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको बताए । विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा निर्माण भएकाले प्राधिकरणको मात्रै विमानस्थल नभएको भन्दै अधिकारीले लगानीकर्ता सबैले आ–आफ्नो तरिकाबाट काम गरिरहेको बताए ।
उनले भने,‘विमानस्थलमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेका छौं । अध्यागमन, भन्सार,क्वारेन्टाइन र सेक्युरेटि एजेन्सीहरूको सोही अनुसारको दरबन्दीका कामहरु भएको छ । मैले के भन्न खोजेको हो भने क्यानको मात्रै एयरपोर्ट होइन । क्यानले मात्रै चलाउन सक्ने विषय पनि होइन । त्यसैले यसलाई राष्ट्रिय गौरवको आयोजना भनिएको हो । सबै स्टेक होल्डरहरु सबै एजेन्सीहरूले आ–आफ्नो तरिकाबाट काम भएको छ । आगामी जेठ २ गतेसम्म सबै काम पूरा हुनेछ । एशियाली विकास बैंक र हामीले लगानी गर्दा रेटअफ रिटन नहेरी काम गरिएको हुँदैन । हामीसँग मार्केट छ । त्यो भएकाले सोचिहाल्नु पर्ने जरुरी देखिदैन ।’
विमानस्थलको व्यापार, प्रचारप्रसार
यस्तै, महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरूसँग औपचारिक रुपमा छलफल भइरहेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको डाटाहरु प्रकाशन गर्ने तयारीमा सरकार रहेको बताए । विमानस्थलको डाटा प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरुलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा स्पष्ट जानकारी दिने उनको भनाइ छ । अधिकारीले अहिलेको अर्थतन्त्र बजार बसेको अर्थतन्त्र भएकाले बजार नभएर जति नै प्रचारप्रसार गरे पनि कोही आउने अवस्था नभएको तर्क गरे । उनले हाम्रो बजार राम्रो रहेकाले विमानस्थल राम्रोसँग चल्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘अहिलेको अर्थतन्त्र भनेको मार्केट बेसिक हो । हामीले यसमा मार्केट छैन भने जतिसुकै प्रचारप्रसार गरे पनि, जतिसुकै भने पनि औपचारिक रुपमा वार्ताहरु गरे पनि मार्केट छैन भने कोही आउने अवस्था हुँदैन । मुख्य कुरा मार्केट हो । हाम्रो दाबी के हो अथवा विश्वास के हो भने यसको मार्केट छ । नारायणी पारिका यात्रुहरूको लागि बौद्ध धर्मालम्बीको लागि र समग्र आफै भएको कारणले र विकासको गति बढ्दै गएको प्रतिफलले गर्दा यो विमानस्थल चल्छ भन्ने विश्वास हो । विश्वास गरेर लगानी गरेर अहिले यहाँसम्म ल्याएको अवस्था छ ।’
विमानस्थल सञ्चालन
महानिर्देशक अधिकारीले विमानस्थल व्यवसायीक ढङ्गले सञ्चालन गर्दा विमानस्थलको अप्रेशन, मर्मत लगायत समग्र विमानस्थलको सञ्चालन नीजि क्षेत्रलाई दिनुपर्ने बताए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले विमानस्थलहरुको निर्माण, मर्मत, सञ्चालन प्राधिकरणले गर्ने व्यवस्था गरेको बताए । अब यो संरचना पुरानो भएकाले तत्कालै परिर्वतन गर्न नसकिने भन्दै विस्तारै सरकारले नीति परिर्वतन गर्नुपर्ने महानिर्देशक अधिकारीले बताए । विमानस्थल नीजि क्षेत्रले निर्माण गरेको भए यसको प्रचारप्रसार फरक हुने तर्क गर्दै अधिकारीले सरकारले निर्माण गरेकाले प्रचारप्रसार गर्दा नीतिहरु केलाउनु पर्ने अवस्था रहेको बताए । विद्यमान कानुन नियमावली र बजारलाई हेरेर बढी भन्दा बढी काम गरिने महानिर्देशक अधिकारीले बताए ।
उनले भने,‘विमानस्थल सञ्चालन भनेको विश्वव्यापी अभ्यास हेर्ने हो भने जुन परमपरागत ढङ्गले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिहेका छौं । अहिले गौतमबुद्ध विमानस्थल पनि त्यही मापदण्डमा त्यही ऐन र नियमावली अनुसार हामीले सञ्चालन गरिरहेका छौं । जस्तो नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले नेपाल राज्यको विमानस्थलहरुको निर्माण, मर्मत, सञ्चालन प्राधिकरणले गर्ने छ भनिएको छ ।’
उनले अब सरकारले नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने नीति लिनु आवश्यक भएको बताए । अधिकारीले विमानस्थल राम्रो बनाउन नीजि क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने बताए ।