काँग्रेसलाई कम्युनिष्टहरुले सरकार जिम्मा लाए – महामन्त्री थापा
२० फागुन पोखरा। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विदेशी अनुदान स्वीकार गर्दा मागेर देश चलाएको भन्नेहरूका छोराछोरी पहिले नै अमेरिकालगायत देश गइसकेको टिप्पणी गरेका छन्। कास्कीमा आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले भने, ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अस्ति नै अमेरिका गइसकेका छन्।’
गत आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित हुँदा थापाले रोष्टममा उभिएर अमेरिका, चीन, भारतलगायत जुन देशले अनुदान दिए पनि लिएर देश विकास गरिने अभिव्यक्ति दिएका थिए। थापाको उक्त अभिव्यक्तिपछि अरू देशबाट मागेर नेपाल चलाउने ? भन्दै आलोचना भएको थियो। महामन्त्री थापाले संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारे छलफल भइरहेको बताए। उनले संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने पनि बताए।
थापाले भने, ‘संसद अवरुद्ध छ, हामी संसद खुलाउन चाहन्छौं। त्यसैले हामी हात जोड्दै बालकोट पुगेका हो। हात जोड्ने पालो हाम्रो हो। हामी एमाले र केपी ओली होइनौं। जिम्मा पाएकाले निहुरिन पनि जान्नुपर्छ। त्यसैले हामी प्रतिपक्षी दलका नेताको ढोका ढकढक्याउन गएका छौं। संसद खुलाउन मद्दत चाहियो भनेर गएका हौं। यति गर्दा पनि अवरोध खुलेन भने के गर्ने रु त्यसबारे सल्लाह हुँदै गर्दछ तर स्थानीय चुनाव तलमाथि हुँदैन।’
उनले कम्युनिस्टहरूले जनादेशको कदर गर्न नसक्दा काँग्रेसले देश चलाउने जिम्मेवारी लिनुपरेको बताए। थापाले भने, ‘काँग्रेसलाई देखाइदियौं भनेर आएका कम्युनिस्टहरूले के गरे ? ५० वर्षसम्म काँग्रेस फर्केर आउँदैन भन्नेहरू अहिले कोही हामीसँगै गठबन्धनमा छन्। एउटाले संसद विघटन गरे, अर्को रोइ कराइ गर्दै लौन न प्रभु सरकार चलाइदिनुपर्यो भनेर आएपछि काँग्रेसले सम्हाल्नै पर्यो।’