चैत २५ गते राप्रपाले काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने
७ चैत काठमाडौ । राजनीतिक दलहरुले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन् । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ । गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेपछि राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढेको देखिन्छ ।
देशभर ठूला, मझौला र साना सभाहरु गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ । पार्टीको वाग्मती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।
उपाध्यक्षहरु ध्रुब बहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको र बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने भएको छ ।