कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै
११ चैत काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज (शुक्रबार) बस्दैछ। शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा उम्मेदवारलाई टिकट दिने संसदीय समिति गठनलगायत विषयमा छलफल हुँदैछ। साथै स्थानीय चुनाव केन्द्रित घरदैलो अभियानको प्रारम्भिक समीक्षालगायत विषयमा छलफल हुनेछ।
त्यस्तै, कांग्रेस विधान अनुसार केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति बन्छन्। केन्द्रमा केन्द्रीय संसदीय समिति गठन गर्न लागिएको हो। कांग्रेसले आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय चुनावका लागि महानगर र उपमहानगरको टिकट केन्द्रीय संसदीय समितिबाट दिने तयारी गरेको छ।
केन्द्रीय समिति बैठक बस्नुपूर्व नै सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकेका छन्। देउवाले रिक्त रहेका भातृ संस्थाका नेतृत्वमध्ये नेविसंघ र तरूण दलमा अध्यक्ष पनि तोकेका छन्। यता, केन्द्रीय समिति बैठक बस्नुपूर्व धारणा बनाउन रामचन्द्र पौडेलले पनि आफूनिकट नेताहरूको भेला राखेका छन्।