स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको छ – प्रधानमन्त्री
१२ चैत काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् । शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीयलाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन् । उनले विकास निर्माणको काम स्थानीय सरकारलाई दिएकाले अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी ढंगबाट सम्पन्न भएको बताए ।
“स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ । अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा त भन्न सकिँदैन,” प्रधानमन्त्री देउवाले भने, “ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेको ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।”
पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो ।