एमालेसँग एकता र सहकार्य हुँदैन – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८
7.3K
SHARES

२० चैत कैलाली। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकता र सहकार्यको सम्भावना नरहेको बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा एमाले बाहेकका अरु जुनसुकै पार्टीसँग पनि सहकार्य गर्न सकिने बताएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगामीको संज्ञा दिँदै उनले भने, ‘प्रतिगामीका विरुद्धमा अग्रगमनकारीबीच आगामी स्थानीय निर्वाचनमा सहकार्य हुन्छ, त्यसका लागि हामी छलफलमै छौं।’ नेपालले स्थानीय तहको निर्वाचनमा सत्तरुढ दलबीच तालमेल हुने निर्णयले जनविरोधीहरुको निन्द्रा हराएको टिप्पणी पनि गरे। उनले चुनावी तालमेलको निर्णयले नागरिक भने उत्साहित भएको दावी गरे।

‘विन-विनको अवस्थामा चुनावी तालमेल गर्ने सकारात्मक सहमतिले जनता उत्साहित भएका छन्,’ नेपालले भने, ‘तर जनविरोधीको मुख चाउरिएको छ, निन्द्रा हराएको छ। जे पायो त्यही बर्बराउन थालेका छन्। जथाभावी बोल्न थालेका छन्। बेहोस हुन बेर छैन।’ उनले पाँच दलबीच तालमेल हुने भएपछि जनतामा उत्साह थपिएको पनि बताए।

नेपालले समाजवादीमा प्रवेश गर्नेको देशभर लहर चलेको बताए। उनले भने, ‘हाम्रोमा प्रवेश गर्नेहरुलाई ओली समूहले न्वारनदेखिको बल लगाएर रोक्ने प्रयास गरिरहेका छन्, तर पनि कुनै पार लाग्नेवाला छैन।’ आफ्नो पार्टी सही विचार, सही नीति, सही मूल्य र मान्यताले अघि बढेकाले पार्टीप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको नेता नेपालले बताए।

उनले भने,‘हाम्रो सिद्धान्त, विचार, नीति तथा मूल्य र मान्यता सही भएकै कारण हामीप्रति आकर्षण बढ्दो छ।’ पत्रकारहरुको जिज्ञासामा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराउनु स्वभाविक भएकाले त्यसबारे केन्द्रमा छलफल भइरहेको पनि उनले बताए।

‘स्वभाविक रुपमा कांग्रेसलाई सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी गराउनु पर्छ,’ उनले भने,‘यसका लागि स्थानीय निर्वाचन अगाडि या पछाडि के गर्ने भन्नेमा हामी चाँडै छलफल गर्नेछौँ।’