कानुन मन्त्रीमा गोविन्द शर्मा नियुक्त, उद्योगमा दिलेन्द्र बडू सरुवा


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८
9.3K
SHARES

२४ चैत काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनमन्त्रीमा गोविन्दप्रसाद शर्मा (कोइराला) लाई नियुक्त गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गैरसांसद शर्मालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी हुन्।

यसअघि कानुन मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई प्रधानमन्त्रीले सम्हालीरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मिति २०७८ असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम नयाँ मन्त्री थपेकी हुन्।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा कोइरालालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको छ’, राष्ट्रपतिको कार्यालयले भनेको छ, ‘कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका माननीय मन्त्री दिलेन्द्रप्रसाद बडूलाई हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नु भएको छ।’