नेपाल बार एसोसियशनको अध्यक्षमा घिमिरेसहित प्यालन नै विजयी
२५ चैत काठमाडौं । नेपाल बार एसोसियशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। शुक्रबार दिउँसो आएको अन्तिम मत परिणाम अनुसार सत्तारुढ गठबन्धन निकट घिमिरेसहित प्यालन नै निर्वाचित भएका हुन्।
घिमिरेले नेकपा एमाले निकट प्रगतीशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमती अधिकारीलाई अध्यक्षमा पराजित गरे। त्यसैगरी बारको महासचिवमा गठबन्धनकी उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा पनि गठबन्धनकै भरतबहादुर राउत विजयी भएका छन्।
२५ सदस्यीय रहने बारको कार्यसमितिका लागि ७ हजार ४ सय २९ मत खसेको थियो। बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि निर्वाचन भएको हो। चण्डेश्वर श्रेष्ठ नेतृत्वको समितिको तीन वर्षे कार्यकाल सकिएसँगै बारको बारको नयाँ नेतृत्वका लागि चैत १९ गते निर्वाचन भएको थियो।