गठबन्धन चुनावी तयारी समितिको बैठक बस्दै
२७ चैत काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक बस्दै छ । स्थानीय तहमा गठबन्धनका दलहरुको अवस्था सम्बन्धी तथ्यांक आएपछि समिति संयोजक रामचन्द्र पौडेलले आज दिउँसो ४ बजेका लागि बैठक डाकेका हुन् । प्रदेशको नेतृत्वमा जिल्ला र पालिकाबाट दलहरुको स्थानीय तहको हैसियतबारेको रिपोर्ट आएपछि गठबन्धन चुनावी तयारी समितिको बैठक बस्न लागेको हो । समितिले स्थानीस्य तहमा दलको अवस्था हेरेर तालमेलको खाका तयार पार्ने बताइएको छ ।
चैत १७ गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन गरेको थियो । सोही दिन प्रदेशको नेतृत्वमा जिल्ला र स्थानीय तहबाट आआफ्नो पार्टीको अवस्था सम्बन्धी प्रतिवेदन पठाउन २२ गतेसम्मको समय दिएका थियो । तर, कतिपय स्थानमा गठबन्धनका तल्लोतहका समितिहरुबीच नै कुरा नमिल्दा प्रतिवेदन आउन ढिला भएको थियो । यद्यपि, अधिकांश ठाउँबाट प्रतिवेदन आइसकेको भन्दै त्यसका आधारमा तालमेलको खाका तयार पार्न आज दिउँसो ४ बजे बैठक डाकिएको हो ।