कहीँ पनि नछोड्ने : गठबन्धन चाहिँ गर्ने कि नगर्ने ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २९ २०७८
2.7K
SHARES

२९ चैत काठमाडौं । सत्ता गठबन्धनले यही चैत १७ गतेको बैठकबाट गठबन्धनमै निर्वाचनमा जाने निर्णय गरिसकेको छ । गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले कार्यकर्तालाई विश्वासमा लिन संयुक्त अपिल पनि जारी गरिसकेका छन् ।गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका कार्यकर्ताहरू भने चुनावी तालमेलका लागि तयार देखिएका छैनन् ।

विशेषगरी महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल गर्ने भनेर तयारी पनि भइरहेको छ । तर, महानगर रहेको स्थानमा कांग्रेसका जिल्ला कार्यसमितिहरूले आफूले नेतृत्व पाउने सर्तमा बाहेक तालमेल हुन नसक्ने दाबी गरिरहेका छन् ।

केन्द्रबाट तालमेल हुँदा महानगरपालिकाको नेतृत्व छोड्न सक्ने सम्भावित स्थानमा कांग्रेसले आफ्नै शीर्ष नेताहरूलाई ज्ञापनपत्र दिएर गठबन्धनको निर्णय भएमा त्यसको कार्यान्वयन नहुने चेतावनी लिखित ज्ञापनपत्रमार्फत दिइरहेका छन् । भरतपुर महानगरपालिका विगतमै नेकपा (माओवादी केन्द्र)ले पाएकाले अहिले पनि उक्त महानगर लिएर गठबन्धन गर्ने सर्त माओवादीले राखेको छ । तर, कांग्रेसका चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यदेखि जिल्ला र महानगर समितिले तालमेल गर्ने नै भए भरतपुर महानगरपालिका छोड्न नहुने र छोडेर केन्द्रबाट तालमेल भए त्यसलाई जिल्लाले अस्वीकार गर्ने भन्दै सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, डा. शेखर कोइराला, महामन्त्री गगन थापासहितका नेतालाई ज्ञापनपत्र बुझाइसकेका छन् ।

चितवन जिल्ला सभापति राजेश्वर खनाल तथा केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र दिनेश कोइराला, पूर्वजिल्लासभापति जितनारायण श्रेष्ठसहितले नेतृत्वलाई तालमेलका नाममा भरतपुर छोडे त्यहाँको पार्टी समिति सहयोग गर्न असमर्थ रहेको बताइसकेका छन् । उनीहरूले पार्टीले निर्णय गरेर अर्को दलका नेतृत्व स्वीकार गरे स्वतन्त्र उमेदवारीमार्फत भए पनि आफ्नै पार्टीको उमेदवार तय हुने चेतावनी समेत दिएका छन् । “हामीले नेतृत्वको ध्यानाकर्षण गराइसकेका छौँ । एउटा पार्टीको भोट रहेका स्थानमा गठबन्धनका नाममा अर्को पार्टीको नेतृत्व स्वीकार्य हुँदैन । विगतमा पनि उमेदवारी नै नभएको रुख चिह्नमा १० हजार मत गएको थियो,” अघिल्लो चुनावमा टिकट दिएर खोसिएका केन्द्रीय सदस्य दिनेश कोइरालाले बाह्रखरीसँग भने, “जिल्लामा केन्द्रीय सदस्य, जिल्ला कार्यसमितिदेखि सबै नेता र महाधिवेशन प्रतिनिधिसम्मको भेलाले भरतपुर कांग्रेसको इलाका भएकाले आफ्नै उमेदवार उठाउने निर्णय गरिसकेको छ । त्यसलाई केन्द्रले सम्मान गरेर नै निर्णय हुन्छ भन्ने विश्वासमा छौँ ।”

उनले विगतमा भरतपुर माओवादी केन्द्रलाई दिँदा त्यसको असर देशभर परेको भन्दै निर्वाचनमा रणनीतिक प्रभाव नपार्नका लागि पनि नेतृत्वले भरतपुर कांग्रेसलाई नै राखेर अन्यत्र गठबन्धनका दललाई दिने गरी निर्णय गर्ने विश्वास व्यक्त गरे । सत्ता गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी)ले पनि कम्तीमा एउटा महानगरपालिका आफूले पाउनुपर्ने भन्दै काठमाडौं वा पोखरामा दाबी प्रस्तुत गरिरहेको छ ।

पोखरामा कांग्रेस अघिल्लो निर्वाचनमा नेकपा (एमाले)का उमेदवारसँग १३ हजार ७०२ मतले पराजित भएको थियो । अहिले विगतमा भन्दा अवस्थामा सुधार आएको भन्दै कांग्रेसले एक्लै लड्दा पनि चुनाव जित्ने अवस्था रहेको कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्मा र कास्की कांग्रेसको रिपोर्टिङ छ ।

तर, केन्द्रमा सभापति देउवाले कास्कीमा कांग्रेस कमजोर रहेको र एकीकृत समाजवादीलाई पनि गठबन्धनको विश्वास दिन सकिने धारणा आन्तरिक रूपमा राख्न थालेपछि कास्की कांग्रेसले नेतृत्व अरूलाई दिने अवस्था भए एक्लै चुनाव लड्ने भन्दै नेतृत्वलाई ध्यानाकर्षण गराउन लागेको छ ।

कास्की कांग्रेसका सभापति ईश्वरदत्त बरालसहितको टोलीले सभापति देउवासहित शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउने तयारीसहित काठमाडौं आएको छ । उनीहरूले पार्टी नेतृत्वले स्थानीय पार्टी समितिको सुझाव नमाने त्यसले विद्रोह निम्त्याउने भन्दै विद्रोहले पार्टीलाई कमजोर पार्ने चेतावनी दिइरहेका छन् ।

अघिल्लो चुनावमा कांग्रेसले दुई, एमालेले दुई महानगरपालिका जितेका थिए भने माअ‍ोवादी र अहिलेको जसपा पक्षले एक÷एक महानगरपालिका जितेका थिए । तर, अहिले कांग्रेसले जितेका ललितपुर र विराटनगर महानगरपालिकामा अरूले दाबी नै गर्ने अवस्था छैन । भरतपुरमा माओवादी तेस्रो अवस्थामा रहेको भन्दै भोटका आधारमा पहिलो पार्टी कांग्रेसले उसलाई समर्थन जनाउन नसक्ने दाबी भइरहेको छ ।

विराटनगरमा त कांग्रेसले गठबन्धन नगर्ने जनाएपछि गठबन्धनमा आबद्ध दलहरूले विपक्षीसँग मिलेर निर्वाचनमा जान सकिनेसम्मका बहस गरेका छन् । तर, नेतृत्व कांग्रेसले राखेर अरू पदमा गठबन्धन हुन सक्ने बताइएपछि विराटनगरको विवाद केही मत्थर भएको छ । तर, गठबन्धन अझै सहज बनिसकेको छैन ।

काठमाडौं महानगरपालिकामा कांग्रेसले विगतमा गुमेको साख फर्काउन मिहिनेत गरिरहेको छ । पोखरा महानगरपालिकामा विगतभन्दा अवस्थामा सुधार आएको र बलियो पडक भएको एमाले फुटेका बेला अरूलाई समर्थन गर्ने कुरा सम्भव नभएको तर्क भइरहेको छ । वीरगन्जमा कांग्रेस विगत निर्वाचनमा थोरै मतले हारेको भन्दै अहिले एकल चुनाव लड्दा नै जित सुनिश्चित हुने जिल्ला तहको रिपोर्टिङ छ ।

तर, कांग्रेस सभापति देउवाले वीरगन्जमा पुगेर विगत निर्वाचनमा गठबन्धन नहुँदा आफू नै ‘बाल–बाल जितेको’ भन्दै गठबन्धनका विरुद्धमा वातवरण निर्माण नगर्न आग्रह गरेका थिए । त्यही वीरगन्जमा कांग्रेस अहिले सबैभन्दा बलियो अवस्थामा रहेको भन्दै वीरगन्ज छोडेर गठबन्धन नगर्न नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन् ।

यस्तो अवस्था देखेर सत्ता गठबन्धनमा आबद्ध अरू दलहरूले गठबन्धनको सरकार चलाइरहेको कांग्रेस गठबन्धन चाहन्छ कि चाहँदैन भन्दै प्रश्न उठाउन थालेका छन् ।

“केन्द्रमा गठबन्धनबाट सरकार चलाउनु हुने तर जितेको ठाउँमा मात्र होइन, हारेको ठाउँमा पनि गठबन्धनका लागि तयार नहुने शैलीले गठबन्धनको वातावरण बन्नुपर्नेजसरी बन्न सकिरहेको छैन,” गठबन्धनमा आबद्ध दल माओवादी केन्द्रका एक नेताले भने, “कि गठबन्धनबाट सरकार पनि चलाउँदैनौँ, कहिले पनि गठबन्धन गर्दैैनौँ भन्न सक्नुपर्‍यो कि गठबन्धनका लागि तयार हुनुपर्‍यो ।”

ती नेताले कांग्रेसका शीर्ष नेताले केन्द्रमा गर्ने निर्णय पार्टीका तल्ला तहले मान्दैनौँ भन्ने अराजक अवस्था देखिएको पनि बताए । “कांग्रेस नेतृत्वले आफ्ना तल्ला तहका नेता–कार्यकर्तालाई पनि सोध्नुपर्‍यो, गठबन्धन गर्दै नगर्ने हो भने गठबन्धनको सरकार चलाउने कि नचलाउने भनेर ?,” प्रश्न गर्दै ती नेताले भने, “केन्द्रमा सरकार चलाउने हो भने स्थानीय तहमा पनि गठबन्धन चाहिन्छ भनेर बुझाउन पनि सक्नुपर्‍यो ।”