चुनाव हाम्रा लागि चुनाव हैन, ब्याटल हो लडाइँ हो – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ३ २०७९
3.2K
SHARES

३ वैशाख कावासोती ।आज  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानविरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् ।

नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन संघको निर्वाचनसम्म कायम रहने बताए । “गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा होइन, सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर, स्थानीय तहदेखि संघको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ,” अध्यक्ष प्रचण्डले भने ।

आउने चुनाव माओवादीका लागि चुनाव मात्रै नभएर ‘ब्याटल’ (लडाइँ) भएको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले भने, “आउने चुनाव हाम्रा लागि चुनाव हैन, ब्याटल हो, लडाइँ हो ।” आउने चुनाव माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता भएको समेत उनले बताए  । “आउने चुनाव माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता छ । अहिले माओवादीले हार्‍यो भने संविधान, गणतन्त्रले हार्छ, महिला, दलित, जनजाति, थारू, आदिवासी, मधेसी सबैको प्रतिनिधित्व भएको छ, यसले हार्छ । सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ, त्यो अधिकारले हार्छ,” अध्यक्ष प्रचण्डले भने । रासस