गोविन्दराज जोशी समूह र एमालेबीच गठबन्धन
४ वैशाख काठमाडौ । तनहुँमा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको समूह र नेकपा (एमाले)बीच चुनावी तालमेल हुने भएको छ । गए राति दुवै समूहबीच यस्तो सहमति भएको हो । सहमतिअनुसार तनहुँका १० वटै स्थानीय तहमा जोशी र एमालेका उमेदवारबीच भागबण्डा हुनेछ ।
तर, व्यास नगरपालिकाको मेयरमा भने जोशीले आफ्ना छोरा दीपक जोशीलाई उमेदवार बनाउने तयारी गरेका छन् ।“कांग्रेस पार्टी हामीसँग मिल्न खोजेन । तिमीहरूको सहयोग चाहिएन भनेपछि एमालेसँग सहमति भएको हो,” जोशीले बाह्रखरीसँग कुरा गर्दै भने, “तनहुँका १० वटा पालिकामै गठबन्धन हुनेछ । तर, हामीले सूर्य चिह्न लिँदैनौँ । स्वतन्त्र चिह्नमा लड्ने हामीलाई एमालेले सहयोग गर्नेछ भने हामीले एमालेलाई सहयोग गर्नेछौँ ।”
जोशी र एमालेका जिल्लास्तरका नेताहरूबीच यस्तो सहमति भएको बताइएको छ जोशी निवास दमौलीमा शनिबार भएको छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएको थियो । छलफलका क्रममा तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ ।
जोशी समूहबाट चारजना र एमाले तनहुँका चार गरी आठ सदस्यीय चुनाव परिचालन समिति गठन गरिएको छ । संयुक्त समितिले प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूको साझा उमेदवारी तय गर्ने सहमति भएको छ ।
तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरिए पनि एकलौटी ढंगले अघि बढेकाले एमालेसँग चुनावी तालमेल गरेको कांग्रेस नेता गोविन्दराज जोशीले बताए ।
कांग्रेसबाट शिक्षा, गृहसहितका मन्त्री तथा कांग्रेसको सहमहामन्त्री भइसकेका जोशी ०७४ सालको संघीय निर्वाचनमा पार्टीको उमेदवार रामचन्द्र पौडेललाई हराउन लागिपरेको भन्दै कारबाहीमा परेका छन् । त्यसयता पनि आफू कांग्रेस भएरै मर्न पाउनुपर्ने बताउँदै आएका जोशीसहितका नेता–कार्यकर्तामाथिको कारबाही फिर्ता भएको छैन । जोशीले तनहुुँमा कांग्रेससँग समानान्तर गतिविधि गर्दै आएका छन् ।