तालमेलको पक्षमा कांग्रेस कार्यकर्ता छैनन् – महामन्त्री थापा
५ वैशाख काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ता पनि तालमेलको पक्षमा नरहेको बताएका छन् ।
कांग्रेस क्षेत्र नंं. ४ प्रदेश (क) क्षेत्रीय कार्यसमितिले सोमबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले निर्वाचनमा तालमेल गर्न नहुने विषय आफूले पहिलेदेखि नै उठाउँदै आएको र कांग्रेस कार्यकर्ता पनि तालमेलको पक्षमा नरहेको बताएका हुन् ।
उनले आफूले पछिल्ला दिनमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग रायसुझाव लिँदा तालमेल गर्न नहुने कुरा आएको जिकिर गरे । थापाले जित्नकै लागि भनेर तालमेल गर्नु ठिक नहुने बताए ।
मतदाता र कार्यकर्ताको भावनाविपरित जबरजस्ती गर्न थाले निर्वाचनको परिणाम फरक हुन सक्ने उनको भनाइ छ । थापाले पार्टी नेतृत्वले सवै नेता, कार्यकर्ता र मतदाताको चाहनाअनुरुप आवश्यक निर्णय लिनुपर्ने बताए ।