गठबन्धन बैठक बालुवाटारमा जारी
१२ बैशाख काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ। बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। गठबन्धन कार्यदलको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रै तालमेलको विषयमा छलफल हुने बताइएको छ।
पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्षहरु बसेर भागबण्डा मिलाउने प्रयास हुन लागेको हो। केन्द्रमा पाँच दलीय गठबन्धन कायम राख्ने प्रयास भएपनि जिल्ला र स्थानीय तहमा फरक–फरक तरिकाले गठबन्धन भइरहेको छ। गठबन्धनको आइतबार बसेको बैठकले सबै दलबीच चुनावी तालमेल नभए पनि गठबन्धन बाहिरका दलसँग नगर्ने निर्णय गरेको थियो।
पछिल्लो समय गठबन्धन भित्रका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गरिरहेको भन्दै त्यसलाई गठबन्धन भित्र नै तालमेल गरेर अघि बढ्नुपर्नेमा बैठकले जोड दिने नेताहरुले बताएका छन्। आसन्न स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकैदिन हुँदैछ। निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।
निर्वाचनका लागि उम्मेदवार मनोनय गर्ने दिन आइसक्दा पनि भागबण्डा नमिलेपछि गठबन्धनमा तनाव छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार आइतबार र सोमबार उम्मेदवारको मनोनयनको कार्यसूची छ। आइतबार नेकपा एमालेका केही, स्वतन्त्रबाट केही र साना दलहरुले उम्मेदवारी दर्ता गराएका थिए।