एमालेको घोषणापत्र कांग्रेसले कपी गर्यो – अध्यक्ष ओली
१३ बैशाख काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रको आलोचना गरेका छन् । मंगलबार राजधानीमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कांग्रेसको घोषणापत्रलाई ‘गालीपुराण’को संज्ञा दिए । “घोषणापत्र भन्ने शीर्षक छ, भित्र गालीपुराण छ । एमालेलाई तथानाम गाली । धारेहात सरापेको सराप्यै,” ओलीले भने ।
उनले कांग्रेसको घोषणापत्र हेर्दा ‘माया लागेको’ भन्दै कटाक्ष पनि गरे । “कांग्रेसको घोषणापत्र पढ्नुस्, मजा आउँछ । कहाँ रसातलमा झर्यो भने ! कठैबरी, माया लाग्छ । कहाँ पुग्यो विचरा कांग्रेस ! लोकतन्त्रका लागि मात्रै दया देखाइरहेको हो । नत्र दया देखाइरहनु पर्दैन ।” ओलीले घोषणापत्र एक व्यक्तिले लेखेको भाषणजस्तो भएको पनि बताए । घोषणापत्रमा एमालेमाथि तथानाम गाली, संविधानको राम्रा कुरा उतारिएको र एमालेको घोषणपत्रको कपी गरेको आरोप पनि लगाए ।
कांग्रेस समर्थित बुद्धिजीवीले समेत कांग्रेसको घोषणापत्रको पक्षमा लेख्न नसक्ने जिकिर समेत उनले गरे । “हाम्रा साथीहरूले घोषणापत्र पढेर कांग्रेसको हविगतको इन्जोय गर्नुस् । नेपालमा कांग्रेस समर्थित कोही बुद्धिजीवी छ भने कांग्रेसको घोषणापत्रको पक्षमा लेख्ने हिम्मत देखाउनुस्,” उनले भने, “हामीलाई त राम्रो छ । नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री उहाँले यस्तै घोषणापत्र निकाल्नुहुन्छ, यस्तै काम गर्नुहुन्छ र अलि सजिलो भएको छ । शेरबहादुरजीलाई धन्यवाद दिए हुन्छ ।”
ओलीले नेकपा (माओवादी केन्द्र) पार्टी नभएको भन्दै उसले घोषणापत्र प्रकाशन नगरेको कटाक्ष समेत गरे । “माओवादी पार्टी होइन, केन्द्र हो त्यो । त्यस्ता सेन्टर त विभिन्न खुलेका छन् नि ! त्यसले चुनावी घोषणापत्र निकालेन । कांग्रेसले निकालेको छ भैगो नि !,” उनले भने ।