एमसीसी पास हुनु ऐतिहासिक र महत्वपूर्ण कार्य हो – गृहमन्त्री
१४ वैशाख काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै प्रस्तावमा एमसीसी आएको बताएका छन् । बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले एमसीसी प्रस्ताव पास हुनु नेपालकै लागि ज्यादै ऐतिहासिक र महत्वपूर्ण कार्य भएको बताए ।
उनले यस परियोजनाले नेपालमा गरिबी निवारण र नेपालमा रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै उनले बिजुलीको तारबाट बम बारुद र सेना नआउने जिकिर बताए ।
गृहमन्त्री खाँणले पूर्ववर्ती सरकारले करिब ४ वर्षसम्म एमसीसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको आरोपसमेत लगाए । उनले एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली कांग्रेस अग्रपंक्तिमा रहेर लड्ने बताए ।
अर्को प्रसंगमा गृहमन्त्री खाँणले अहिले नेपाललाई अर्थतन्त्रको समस्या रहेको बताए । उनले अर्थतन्त्रलाई उकास्न पेट्रोलियम पदार्थको आयात कम गरी विद्युतीय साधनमा जोड दिनुपर्ने बताए ।