प्रहरी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी
२५ वैशाख काठमाडौ । यही वैशाख ११ गतेदेखि अवरुद्ध काठमाडौंको फोहोरको ढुवानी सुरु भएको छ । काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोग लिएर फोहोरको ढुवानी सुरु गरेको हो ।
महानगरको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईका अनुसार सडक निर्माणको माग राखेर स्थानीयले फोहोरको ढुवानी अवरुद्ध गर्दै आएका छन् ।
‘‘स्थानीय मागका विषयमा वैशाख २२ गते गरिएको छलफलमा आन्दोलनरत पक्षले कुनै पनि सर्तमा फोहोर ढुवानी गर्ने गाडी सञ्चालन गर्न नदिने अडान राखेपछि समस्या जटिल बनेको थियो,” राईले भनिन्, ‘‘यसपछि सुरक्षा निकायको साथ महसुस भएको हो । त्यसपछि हामीले गृह मन्त्रालयलाई अवस्थाका विषयमा जानकारी गराएर सहयोग मागेका हौँ ।”
महानगरका अनुसार आज मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब १२ सय मेट्रिक टन फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ । त्यसमध्ये करिब ५४५ टन फोहोर काठमाडौं महानगरको हो ।