निर्वाचनबाट प्रतिगमनकारीलाई निस्तेज पार्न सफल भयौं – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९
6.9K
SHARES

२ जेठ काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गरेका छन्। बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै प्रचण्डले बुद्धले प्राप्त गरेको ज्ञान आजसम्म सान्दर्भिक र जीवनोपयोगी रहेको बताएका छन्। विश्व शान्ति र मानव कल्याणका लागि बुद्धका विचार आज पनि उत्तिकै महत्त्व राख्ने उनको भनाई छ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाली समाज विविधताले भरिपूर्ण एकतावद्ध र सहिष्णु समाज हो । समाजको विकास पनि एक आपसका सामुदायिक भावनाहरूको सम्मानले नै हुने गर्छ। सामाजिक ऐक्यवद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिल्दछ। नेपालको भूमिमा जन्मेर शान्तिका दूत गौतम बुद्धले प्राप्त गर्नुभएका ज्ञान आजसम्म सान्दर्भिक र जीवनोपयोगी छन्। बुद्धका विचारले विश्व शान्ति र मानव कल्याणका लागि आज पनि उत्तिकै महत्त्व राख्दछन्।’

अध्यक्ष प्रचण्डले निर्वाचनमा छिटपुट घटनाबाहेक देशभरबाट भएको जनताको उत्साहप्रद सहभागिताले लोकतन्त्रको सबलीकरणमा मद्दत मिलेको बताए। उनले एक चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरी लोकतन्त्र र संविधानका विरुद्ध हुन खोज्ने प्रतिगमनकारी षडयन्त्रलाई निस्तेज पार्न गठबन्धन सरकारको सफल भएको दाबी गरे।

उनले भनेका छन्, ‘छिटपुटका घटना बाहेक निर्वाचनमा देशभरबाट भएको जनताको उत्साहप्रद सहभागिताले लोकतन्त्रको सबलीकरणमा मद्दत मिलेको छ । प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गरी जनताको बलमा गठन भएको वर्तमान ५ दलीय गठबन्धन सरकारले एक चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरी लोकतन्त्र र संविधानका विरुद्ध हुन खोज्ने प्रतिगमनकारी षडयन्त्रलाई निस्तेज पार्न सफल भएको छ।’