जितेका स्वतन्त्र उम्मेदवारलाई सघाउनुपर्छ – महामन्त्री शर्मा
९ जेठ काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचित स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्ने बताएका छन्। स्वतन्त्र उम्मेदवारले केही पालिकामा चुनाव जितेपछि एक्लैलाई काम गर्न असहज हुने टिप्पणी भइरहेको बेला महामन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएका हुन्।
उनले स्वतन्त्र उम्मेदवारले ‘कसरी काम गर्लान्’ भन्ने प्रश्न नगर्न पनि आग्रह गरे। शर्माले भनेका छन्, ‘कसरी काम गर्लान् ? प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनुपर्छ।’
स्वतन्त्र उम्मेदवारहरूको जितले दलहरूलाई दिएको सन्देशलाई आत्मसात् गर्नुपर्ने उनी बताउँछन्। शर्माले ‘बुलेट’ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ‘ब्यालेट’बाट आएकालाई सहज आत्मसात् गर्नुपर्ने पनि बताएका छन्।
‘बुलेटले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेटबाट आएकालाई सहज आत्मसात् गर्नुपर्छ। धरान-धनगढी या कहिँपनि स्वतन्त्रको जीतले मुख्य दलहरूलाई दिएको सन्देश हामीले आत्मसात् गर्नुपर्छ,’ उनले सामाजिक सञ्चालमा लेखेका छन्।
धनगढी, धरान उपमहानगरपालिका लगायतका पालिकामा प्रमुख पद र वडा स्तरमा पनि स्वतन्त्र उम्मेदवारले जिते निकालेका छन्। यता काठमाडौं महानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार जितनजिक देखिन्छन्।
