सरकारै जेरीजस्तै गुजुल्टिएको छ, नीति पनि त्यस्तै – अध्यक्ष ओली
१२ जेठ काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले ल्याएको नीति तथा कार्यक्रम जेरी जस्तो गुजुल्टिएको भन्दै व्यङ्ग्य गरेका छन्। संसद् बैठकमा अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्ट नभएर जनतालाई अलमल्याउने खालको भएको बताए।
‘नीति कार्यक्रम भनेर ६५ पृष्ठमा १ सय ४५ वटा बुँदा राखेर ल्याइएको छ। यसमा रहेका भनाइका अर्थ र अन्तर्वस्तुतर्फ पटक्कै ध्यान नगईकन वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरीजस्तो खल्लो, गुजुल्टिएको। चास्नीमा हाल्न भ्याएको छैन,’ उनले भने, ‘अर्थ निस्किँदै ननिस्किने आधा पेजको वाक्य कहाँबाट कहाँ, एक ठाउँबाट सुरु हुन्छ, त्यसको आदि, मध्य र अन्त्य के हो ? गुजुल्टिँदै गएर, कहाँ गएर अन्त्य हुन्छ थाहा हुन्न।’
उनले सरकारको कुनै नीति नभएको आरोप लगाए। उनले सरकार कहाँ पुग्ने भन्ने गन्तव्य नभएको बताए। सरकारको नीति तथा कार्यक्रम कुन पार्टीको हो भनेर यकिन नभएको ओलीको भनाइ थियो। ‘यो सरकारै त्यस्तै छ जेरीजस्तै गुजुल्टिएको। कुनै नीति छैन, कहाँ पुग्ने ? कसको नीति ? यसको नीति के हो ?,’ उनले भने।
सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाई भने जस्तो उल्लेख भएको बताए। शब्दमा मात्र जाल बुनेर नीति कार्यक्रम ल्याइएको उनले बताए। ‘बुँदा न १३६ ले भ्रष्टाचार गर्ने प्रष्ट छ,’ उनले भने, ‘भ्रष्टाचार प्रवर्द्धन गर्ने भन्ने छ, के हो त्यो भनेको ? अर्थ न बर्थ गोविन्द गाई भने जस्तो शब्द छ।’
उनले गैरजिम्मेवार र अनुत्तरदायी प्रवृत्तिका साथै अर्थतन्त्रमाथि खेलबाड गर्ने प्रवृत्तिको भएकाले यो बजेटमार्फत प्रष्ट हुने संकेत अहिले देखिएको बताए। उनले सत्तापक्षसँग समय भएकाले यसलाई असत्य सावित गरेर देखाउन चुनौती दिए।