विमान दुर्घटना : १४ को शव फेला, पहिचान हुन बाँकी


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १६ २०७९
5.8K
SHARES

 

१६ जेठ काठमाडौं । तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ।

विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैनन्। नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन्। दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ। दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए।

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइनेसमेत उनले बताए। चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतिविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयबासीको टोलीले भेटाएका हुन्। यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान संकलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ।