यस्तो आयो विमान दुर्घनाको प्रारम्भिक निष्कर्ष
१६ जेठ काठमाडौ । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी गराएका हुन्।
संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा दुर्घनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’गरेर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए ।
घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले बताए ।
घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ । उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भीरमा ठोक्किँएर दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान भेटिएको हो। विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको छ ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १० : १० मिनेटमा सम्पर्कविहीन भएको थियो ।