रात्रीबस दुर्घटना : ९ जनाको मृत्यु, २३ घाइते
२२ जेठ बुटवल । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो ।
५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भीम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरी अस्पताल पुर्याउने काम भएको बताए । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो ।
भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघिपनि पटक–पटक गाडीहरु खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएको हुनसक्ने कारणले बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।