फोहोर लिएर ट्रक चालक बञ्चरेडाँडा जान मानेनन् !


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २६ २०७९
3.5K
SHARES

२६ जेठ काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर उठाउन काठमाडौं महानगरपालिकाले जारी राखेको प्रयास निष्कर्षमा पुग्न सकेको छैन । विवाद मिलेको छैन । सिसडोल क्षेत्रका स्थानीयले काठमाडौंमा भएको सहमति अस्वीकार गरेका छन् ।

उनीहरुको आन्दोलनले बुधबार फिर्ता भएका ट्रकहरु काठमाडौंमै थन्किएका छन् । बुधबार प्रहरी र बञ्चरेडाँडाका स्थानीयबीच झडप भएको थियो । झडपमा स्थानीयले फोहोर बोकेर गएका ट्रक तोडफोड गरेका थिए । प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको थियो ।

मंगलबार प्रहरीको सुरक्षामा डेढ सय ट्रक फोहोर विसर्जन गरिएको भए पनि त्यसयता फोहार फाल्न सकिएको छैन । काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले ट्रक चालकहरुसँग वार्ता भइरहेको जानकारी दिइन् । उनका अनुसार प्रहरी सुुरक्षामा पनि फोहोर विसर्जन स्थलसम्म लैजान सकिएको छैन । “हामी वार्ता गरिरहेका छौँ । पुनः फोहोर लैजान ट्रक चालकहरुले मानिरहेका छैनन् । हिजोको झडपका कारण चालकहरु हिचकिचाइरहेका छन् । पेट्रोल बम प्रहार गरेर त्यहाँ जानसकिने अवस्था छैन भनिरहेका छन्,” प्रमुख राईले भनिन् ।

गत सोमबार सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोलको रोहबरमा त्रिपक्षीय सम्झौता भएको थियो । उक्त सम्झौतामा बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाकातर्फबाट निर्देशक रविन्द्र वोहोरा, काठमाडौँ महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र धुनिबेँसी नगरपालिकाकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले फोहोर लैजाने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

मन्त्रालयले प्रभावित क्षेत्रका ५ वटा क्षेत्रका लागि आर्थिक वर्ष २०७९/०८० मा ४२ करोड ५० लाख रुपैयाँ, नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपण कार्यका लागि १ करोड ७० लाख विनियोजन गरिएको थियो ।

जग्गा अधिग्रहण गर्न वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थालनी गरी प्रतिवेदनका आधारमा स्थानीयका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजरको प्रक्रिया सुरु गर्ने सहमति भएको थियो ।

त्यस्तै महानगरले १ हप्ताभित्र धुनिबेँसी नगरको वडा १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नं. १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयबासीको स्वास्थ्य बिमा गर्ने सहमति भएको थियो । यी सहमतिले स्थानीयको माग पुरा नभएको भन्दै आन्दोलन गरिरहेका छन् । स्थानीयले धुँनिवेँसी नगरपालिकाका मेयर र ककनी गाउँपालिकाका अध्यक्षलाई दोषी देखाउँदै मिलेमतोमा कर्मकाण्डी सहमति गरेको आरोप लगाउदै आएका छन् ।

गुठीको जग्गा ९० प्रतिशत उपभोग गर्नु पाउनुपर्ने, वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने, स्थानीयलाई रोजगारी दिलाउनुपर्ने र फोहोरलाई छिट्टै दुर्गन्धमुक्त गर्नुपर्ने, फोहोर र मानिसहरु एकठाउँमा बस्न नहुने मागहरु रहेका छन् ।