इन्धनको मूल्य हाम्रो काबुमा छैन – मन्त्री बडू


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ७ २०७९
3.8K
SHARES

७ असार काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य काबु बाहिरको अवस्था रहेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्त्री बडूले रुस-युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थ तथा इन्धनको मूल्य बढेकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य काबु बाहिरको अवस्था आएको बताए।

‘यो हाम्रो काबु बाहिरको अवस्था रह्यो। रुस युक्रेन युद्धका कारण विश्व बजारमा नै अभाव बढ्दो छ,’ उनले भने, ‘त्यति बेला हामीले आफ्नो जनताका निम्ति थप उपाय के हुन सक्छन् भन्ने छ। यो बाध्यात्मक अवस्थामा मूल्यवृद्धि गर्नुपरेको छ।’ पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिमा सर्वसाधारणलाई राहत दिन सरकारले कर समायोजन गरेर प्रतिलिटर १० रुपैयाँ घटाएको पनि उनले उल्लेख गरे।

उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणमा पर्न गएको असुविधालाई ध्यानमा राख्दै हाल पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले उद्योग मन्त्रालयको प्रस्तावमा १० रुपैयाँ घटाइसकिएको छ।’

जनतामाथि परेको पिर मार्का प्रति सरकार सदैव संवेदनशील रहेको उनको भनाइ छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य क्षेत्रमा भएको मूल्यवृद्धिले जनतालाई परेको पीडामा सरकार संवेदनशील र पीडा बोध भएको उनी बताउँछन्।