सिंहदरबारमा कर्मचारीको प्रदर्शन
१६ साउन काठमाडौ । प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरू (नासु)ले सिंहदरबारमा प्रदर्शन गरेका छन् । निजामती कर्मचारी युनियनका महासचिव प्रकाश भट्टराईको नेतृत्वमा ‘नासु बचाऊ अभियान’ले सिंह दरबार परिसरका सडकमा प्रदर्शन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका हुन् ।
सरकारले लामो समयदेखि ल्याउन खोजेको संघीय निजामती सेवा ऐनमा कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था राख्नुपर्ने बताएका छन् । नायब सुब्बालाई अन्याय भएको भन्दै ऐनमा शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिकरअन्तर तहतर्फ प्रतिष्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।
‘सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिष्पर्धा गर्न पाउनुपर्ने उनीहरुको माग रहेको छ । निजामती ऐनको विषयमा कर्मचारीहरुले अहिले सांकेतिक रुपमा विरोध गरेपनि मागहरु सम्बोधन नभई निजामती ऐन आएमा आन्दोलन चर्काउने बताएका छन् ।