स्वदेशमा नै श्रम गर्न जनचेतना जगाउनुपर्ने छ – मन्त्री कुँवर


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १६ २०७९
11.2K
SHARES

१६ साउन काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले स्वदेशमा नै रोजगारीको वातावरण बनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आज वैदेशिक रोजगार र श्रमसम्बन्धी रहेका समस्याका सम्बन्धमा गरेको बैठकमा उनले स्वदेशमा नै श्रमिकलाई श्रम गर्न जनचेतना जगाउनुपर्ने बताए।

नेपालमा नै बाहिर मुलुक भारतबाट आएर श्रम गरिरहेको भन्दै उनले नेपालकै श्रमिक रोजगारका लागि विदेशमा गएर काम गर्नुपरेको उल्लेख गरे। ‘नेपालमा नै श्रम बजार छ भनेर यहाँका श्रमिकलाई जनचेतना जगाउन आवश्यक छ,’ उनले भने, ‘नेपालमा नै विदेशमा गरे जतिकै श्रम पाइन्छ भन्ने कुराको जनचेतना गराउनु पर्दछ।’

उनले भारतलगायत देशबाट आएका कामदारले नेपालका विभिन्न उद्योग, कलकारखानामा काम गरिरहेको बताए। उनले दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने बताए।

समितिका सभापति विमलश्री वास्तवले यहाँका श्रमिकलाई विदेश नपठाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे। ‘हामीले रोजगारका लागि बाहिर मुलुकमा श्रमिक पठाउने गर्दछौँ, तर हाम्रै मुलुकमा भारतबाट आएका श्रमिकले काम गरेर राम्रै आर्थिक उपार्जन गरिरहेका छन्,’ उनले भने, ‘मुलुकमा नै आन्तरिक श्रमिक व्यवस्थापन गर्नुपर्दछ।’

उनले आफूले एक स्टिल उद्योगमा अनुगमनका क्रममा जाँदा एक हजार दुई सय श्रमिकमध्ये आठ सय भारतीय श्रमिक पाएको जनाउँदै नेपालमा रहेका श्रमिकलाई विदेशमा पठाउनुभन्दा स्वदेशकै उद्योग, कलकारखानाका काममा लगाउनुपर्ने बताए।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले स्वदेशमा नै श्रम बजारको व्यवस्थापन गरिरहेको बताए। उनले आन्तरिक रोजगार गर्नका लागि आन्तरिक रोजगार प्रवर्द्धन गर्न मन्त्रालयले काम गरिरहेको बताए। अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत एक लाख ४५ हजार एक सय १३ जनालाई स्वरोजगार बनाइएको उनको भनाइ थियो। -रासस